Welcome to my personal blog. I mostly write on entrepreneurship, economics, libertarianism, movies, and my travels.

Search This Blog

Dec 25, 2016

भार बिर्साउने भैरवकुण्ड


दुई वर्षअघिको दसैँमा नुम्बुर चिज सर्किटको पदयात्रा गर्दा चार दिनसम्म पूरै मानवरहित निर्जन जंगल, फाँट, नदीकिनार र हिमालको फेदमा बसेको अनुभव लिइयो । यसपालि त्यस्तै लहडले हामीलाई उत्तरी सिन्धुपाल्चोकको भैरवकुण्ड पदयात्रामा डोर्‍यायो । समुद्री सतहदेखि ४ हजार २ सय ५० मिटरको उचाइमा अवस्थित कुण्ड हाम्रो गन्तव्य थियो । तर, प्रवद्र्धन अभावका कारण पर्यटक कम जाने क्षेत्र भएकाले पूर्वाधारहरू खडा भइनसकेकाले आठ दिनसम्म लाग्ने पदयात्राको कम्तीमा दुई दिन जंगलमै टेन्ट खडा गरेर बस्नुपथ्र्यो । 

१७ असोजमा काठमाडौँको पुरानो बसपार्कबाट जलवीरेको बस चढैसँगै पाँच जनाको हाम्रो टोलीले भैरवकुण्ड यात्रा सुरु गरेको थियो । करिब पाँच घन्टाको यात्रापश्चात् गाडीले जलवीरेभन्दा केही टाढा ढाडेबजार भन्ने ठाउँसम्म पुर्‍याइदियो । जलवीरेबाट अघि बढ्दा मध्याह्नको टन्टलापुर घाम थियो । तर, बाटो साह्रै रमणीय हुँदा घामले पोलेको पनि पत्तो पाइएनछ । तलपट्टि गर्जंदै बगिरहेको खोला, हरिया पहाड, थुम्काथुम्कामा बसेका वस्ती र बाटोमा भेटिने ठूला झरना भेट्दा थप के चाहिन्थ्यो र ?

थकाइ मार्दै, फोटो खिच्दै र झरनामा नुहाउँदै हिँडेको हामी साँझ ४ बजेतिर चनौटे पुग्यौँ । गाँस र बास पाइने आशमा लम्केका हामी तब झस्कियौँ, जब त्यहाँको अलिक ठूलो वस्ती भूकम्पपछि केही घरमा सीमित भएको रहेछ । त्यहीँको एक घरमा चिया र भोगटे खान त पाइयो तर बास पाउने अवस्था थिएन । बासका लागि हामी अझ माथि रहेको कात्तिके बजार पुग्यौँ । 

दोस्रो दिन सबेरै कात्तिके बजारबाट ठाडो उकालो लाग्यौँ खानीगाउँतिर । घना जंगलबीचको सानो गोरेटो बाटो ठाडो उकालो लाग्दै जाँदा टाढाटाढा थुम्कामा हरिया खेतले घेरेका ब्यूँभँmदै गरेका वस्ती साह्रै मनमोहक देखिन्थे । राजधानीबाट नजिक रहेर पनि सडक नपुग्नाले होला, किसानहरू अझै पनि हलो जोतेरै खेती गरिरहेका देखिन्थे ।

१ बजेतिर बल्ल डल्लेपोखरी पुग्यौँ । ठाउँको नाम त्यहाँ देखिने गोलाकार पोखरीबाटै जुरेको रहेछ । त्यहाँ हामीसँग एक जना वृद्ध गफिन आए । 

“बाबुहरू कता हिँड्नुभयो ?”
“हामी भैरवकुण्ड हिँडेका ।”
“किन नि ?”
“यत्तिकै घुम्नलाई ।”
“अनि, कुइरे खै त तपाईंहरूको ?”
“छैन, हामी आफैँ हिँडेको घुम्नलाई ।”


उनीहरूलाई नेपाली पनि पर्यटक भएर घुम्न हिँड्छन् भन्ने कुरो पचाउन गाह्रो भइरहेको थियो । ती वृद्धले त्यसपछि आफ्नो गाउँको इतिहास सुनाए ।

उनीहरूको पुख्र्यौली वस्ती साँखुमा थियो रे ! जब पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरे र कब्जा गरे, तब उनको दमनबाट बच्नका लागि केही नेवारहरू भागेर खानीगाउँ पुगेका रहेछन् र त्यतै बस्न थालेछन् । गाउँनजिकै फलामको खानी पनि रहेछ । 

“हामी नेवार भए पनि नेवारी बोल्न भने आउँदैन । त्यसबेला भागेर यता आउँदा नेवारी बोल्यो भने पृथ्वीनारायण शाहका सेनाले समात्छन्, मार्छन् भन्थे रे ! त्यसपछि बिस्तारै नेवारी भाषा बोल्न छोड्दै गए हाम्रा पुर्खाले,” ती वृद्धले सुनाए । 

त्यस दिन हामी लेकमा रहेको शेर्पाहरूको गाउँ गोलु पुग्यौँ । थकान र जुकासँग लड्दैपड्दै गोधूलि साँझमा बल्ल गोलु पुगियो । हामीलाई कान्छी शेर्पाले ढिँडो, दूधबाट बनाइएको एक प्रकारको तरकारी र छुर्पी खुवाइन् । 

तेस्रो दिन भने कष्टकर रह्यो । अन्तिम वस्ती छोडिसकेपछि तीव्र गतिमा उचाइ बढिरहेको थियो । हाम्रो उद्देश्य उज्यालो होउन्जेल हिँड्ने र साँझमा उपयुक्त स्थान खोजेर टेन्ट लगाएर बस्ने योजना थियो । गाउँलेहरूले सल्ले, डालिन्चे भन्ने ठाउँ बाटोमा भेटिन्छ भनेका थिए तर न कुनै घर, न कुनै संकेत नै भेटियो । कुन ठाउँ कतिखेर काटियो, पत्तै भएन । जंगलबीच दोबाटो आउँदा झन् बढी सास्ती हुन्थ्यो । एकपटक एक घन्टा हिँडेपछि एउटा गोठ आएपछि पो हामीलाई बाटो बिराइएछ भन्ने पत्तो लाग्यो । तर, गोठमा भएका शेर्पिनी दिदी–बहिनीहरूले नुन हालेको चिया र छुर्पी खुवाएपछि चाहिँ बाटो बिराएकामा खासै पछूतो लागेन । 

गोठबाट ठाडो उकालो चढ्दा १५ मिनेटमै सही बाटो भेटिने रहेछ । एक जना भाइले हामीलाई सही बाटोसम्म पुर्‍याइदिए । त्यस दिन साँझ ५ बजेतिर जंगलभित्रैको एउटा सानो विश्रामस्थलमा बास बस्ने निर्णय गर्‍यौँ । अर्को एक घन्टा हिँडेको भए झन् रमणीय स्थल र राम्रो पाटी पुगिने रहेछ तर थाहा भएन । त्यसमाथि पानी दर्किन थाल्यो । जसोतसो रात काट्यौँ । 

चौथो दिन सबैभन्दा रोमाञ्चक भयो । आँखाले भ्याउन्जेलसम्म देखिने हिमशृंखला, हरिया चौर, तल देखिने थुम्काथुम्कामा रहेका मानव वस्तीका दृश्य कैद गर्ने प्रतिस्पर्धा नै चल्यो हामीमाझ । चोगरमोगर भन्ने ठाउँमा त हामीले करिब एक घन्टासम्म नै विभिन्न आसन र फ्रेममा तस्बिरहरू कैद गर्‍यौँ । मन नअघाए पनि समयको पाबन्दीका कारण हामी पुन: उकालो लाग्यौँ । 

चोगरमोगरबाट करिब दुई घन्टा चट्टानी बाटो हिँडेपछि आइपुग्यो, भैरवकुण्ड । त्यो सुन्दर पोखरी देखेपछि यात्राको कष्ट निमेशभरमै बिर्सियो । हामी छेउको चुचुरो चढेर भैरवकुण्डको सम्पूर्ण रूप हेर्न थाल्यौँ । चिसो बतासको चुम्बन, भैरवकुण्डको सुस्केरा र चराहरूको चिरबिर संगीतले दिएको आनन्द शब्दमा व्याख्या गर्नै सकिँदैन ।

यस कुण्डलाई शेर्पाहरूले भने छेमाङ पोखरी भन्दा रहेछन् । यहाँ जनै पूर्णिमा र नागपञ्चमीमा मेला लाग्ने गर्छ । चरा अवलोकनका लागि पनि विशेष ठाउँ रहेछ यो । कुण्डछेउ केही बेर निदाएपछि हामी उठेर लाग्यौँ आ–आफ्ना कामतर्फ । केहीले टेन्ट लगायौँ, केहीले दाउरा खोज्यौँ र केहीले पानी ओसार्‍यौँ । त्यसपछि सुप, कफी पकाएर खायौँ र केहीबेर अझै कुण्ड वरिपरि घुम्यौँ । क्षणभरमा स्पष्ट देखिने पोखरी क्षणभरमै कुहिरोले ढाकिहाल्ने । एक क्षणमा घाम टिलिक्क लागेको ठाउँमा पत्तै नपाइ पानी पर्न थाल्ने । साह्रै रमाइलो । 

पाँचौँ दिन सबेरैको किरणमाझ हिमाल पृष्ठभूमिमा राखेर फोटो खिच्नु र हिमाल हेर्नुको मज्जा बेग्लै थियो । त्यसपछि भने हामी फर्किने तरखरमा लाग्यौँ । ओरालो बाटोले साँझपख यार्मासिंह गाउँ पुर्‍यायो । त्यस दिन त्यहीँ बास बसेर छैटौँ दिन हामी लार्चा आइपुग्यौँ र त्यहाँबाट गाडी चढेर काठमाडौँ हिँड्यौँ, घरमै दसैँ मनाउने हतारो बोकेर ।

(सर्वप्रथम कार्तिक २४, २०७३ मा नेपाल साप्ताहिकमा प्रकाशित)