साम्यवाद किन असफल भयो ?
(My Nepali translation of the article "Why Communism Failed" by Bettina Bien Greaves)
रुसी क्रान्तिको तीन वर्षपश्चात् एकजना अस्ट्रियाली अर्थशास्त्री लुडविग भन मिसेसले साम्यवाद असफल हुने तर्क गरेका थिए र त्यसको कारण पनि व्याख्या गरेका थिए । सन् १९२० मा मिसेसले लेखेका थिए, साम्यवाद वा समाजवाद सफल हुन सक्दैन किनभने यसले स्वतन्त्र बजारलाई उन्मूलन गर्दछ जसले गर्दा बजार मूल्य हुँदैन र अधिकारीहरूलाई उत्पादनसम्बन्धी योजना बनाउँदा मार्गदर्शन गर्ने केही पनि हुँदैन । यो विवादास्पद भविष्यवाणी गर्दा मिसेस खासै चिर-परिचित थिएनन् तर पछि गएर अर्थशास्त्रको अष्ट्रीयाली (स्वतन्त्र बजार) विचारधाराको प्रमुख पैरवीकर्ताको रूपमा उनी चर्चित भए । सन् १९७३मा उनको मृत्यु भएपछि उनको सिद्धान्तका नयाँ अनुयायीहरू थपिए जसमध्ये केही पूर्वी यूरोपबाट समेत थिए ।
सोभियत संघ निकै उच्च आशाका साथ प्रारम्भ गरिएको थियो । केन्द्रीय समितिले योजना बनाउने र सबैको लागि यथेष्ट भएको सुनिश्चित गर्ने सोच थियो । कालान्तरमा राज्य विलय भएर जाने भन्ने थियो । तर सोचेको जस्तो भएन । सोभियत राज्य छिट्टै नै निकै शक्तिशाली हुन गयो र संसारकै सबैभन्दा बढी दमनकारी मध्येको बन्न गयो । १९२० र ३० को दशकमा लाखौं रुसी जनता भोकमरीले बिते ।
Photo by: Steve Harvey/Unsplash |
मिसेसले औल्याए जस्तै, समाजवादी उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, श्रम, औजार, तथा यन्त्रहरू बजारभन्दा बाहिर हुन्छन् । तिनीहरू सरकारको स्वामित्वमा हुन्छन् र सरकारी योजनाकारद्वारा नियन्त्रित हुन्छन् । कसैले पनि तिनलाई किन्न वा बेच्न सक्दैन । तिनीहरूको बजार मूल्य उत्पन्न हुँदैन किनभने तिनीहरूको विनिमय हुँदैन ।
आधुनिक उत्पादन अत्यन्त समय लाग्ने र जटिल हुन्छ । उत्पादकहरूले के उत्पादन गर्ने भन्ने निर्णय गर्दा विकल्पहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ । र उनीहरूले कसरी उत्पादन गर्ने भन्ने निर्णय गर्दा उत्पादनका विभिन्न माध्यममाथि विचार पुर्याउनुपर्ने हुन्छ । कच्चापदार्थ, औजार, तथा यन्त्रहरूलाई सबैभन्दा अत्यावश्यक परियोजनाको लागि छुट्याउनुपर्ने हुन्छ र कम आवश्यक परियोजनामा खेर फाल्नु हुँदैन ।
उदाहरणको लागि, एउटा नयाँ रेलमार्गको नियोजनलाई हेरौं । के यो बनाइनुपर्छ ? यदि पर्छ भने कहाँ ? र कसरी ? के रेलमार्ग बनाउनु एउटा पुल बनाउनु, विद्युत उत्पादनको लागि बाँध बनाउनु, तेल खानीको विकास गर्नु वा थप जमिनमा खेती गर्नुभन्दा बढी महत्वपूर्ण छ ? कुनै पनि केन्द्रीय योजनाकारले यी असंख्य सम्भवनाहरूलाई मध्यनजर गर्न सक्दैन भलै उसले तथ्यांकशास्त्रीहरू कर्मचारी राखेको किन नहोस् ! श्रमको सट्टा केही हदसम्म यन्त्र प्रयोग गर्न सकिएला, फलामको सट्टामा काठ, अलमुनियम, वा नयाँ सिन्थेटिक सामग्री प्रयोग गर्न सकिएला । तर योजनाकारले कसरी निर्णय गर्छन् ?
यी निर्णयहरू गर्नका लागि योजनाकारलाई यसमा संलग्न असंख्य उत्पादन कारकहरूको सापेक्षिक मूल्य – विनिमय अनुपात वा बजार मूल्य - थाहा हुन जरूरी छ । तर जब यी कारकहरू सरकारी स्वामित्वमा हुन्छन्, तिनीहरूको कारोबार हुँदैन जसले गर्दा बजार मूल्य हुँदैन । बजार मूल्यविना, योजनाकारहरूलाई फलाम, अलुमिनियम, काठ, नयाँ सिन्थेटिक वा रेलमार्ग, तेल खानी, कृषियोग्य जमिन, ऊर्जा केन्द्र, पुल, वा आवासको सापेक्षिक मूल्य थाहा हुँदैन । उत्पादनका कारकहरूको बजार मूल्यविना योजनाकारहरूले उपभोक्ताको सबैभन्दा बढी महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नका लागि कसरी उत्पादनलाई समन्वय र दिशानिर्देश गर्ने भन्नेमा अन्योलमा हुन्छन् ।
Photo by: Jonas Jovaisis/Unsplash |
एउटा प्रतिस्पर्धात्मक अर्थतन्त्रमा, जहाँ उत्पादनका कारकहरू निजी स्वामित्वमा हुन्छन्, यी समस्याहरू दैनिक रूपमा समाधान हुन्छन् जब मालिकहरूले विभिन्न कारकहरूको मौद्रिक मूल्य गणना गर्दछन् र त्यसपछि इच्छाअनुसार किन्ने, बेच्ने, वा सट्टापट्टा गर्ने गर्दछन् । मिसेसले सन् १९२० मा लेखेको जस्तै, "हामीले उत्पादनका कारकहरूको निजी स्वामित्व र पैसाको प्रयोगबाट जति कदम टाढा चाल्छौं, हामी तर्कसंगत अर्थशास्त्रबाट त्यति नै टाढा पुगिराखेका हुन्छौं ।"
आज, साम्यवादीहरूले समेत मिसेस सही रहेको स्वीकार्छन् । सोभियत संघ, निजी सम्पति तथा मौद्रिक गणनाविनाको एउटा समाजवादी समाज, "आर्थिक गणनाको कम्पासविना सम्भावित तथा कल्पनीय आर्थिक सम्मिश्रणहरूको सागरमा हराउनेछ" मिसेसले भविष्यवाणी गरेका थिए सन् १९२० मा । र उनी सही ठहरिए !